जेठ ६,
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का माग पूरा गर्न सभामुख कृष्णबहादुर महराले सरकारलाई फेरि रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकको शुरूमै सभामुखसँग समय लिएर आफूहरूका माग पूरा नभए सदनमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएपछि सभामुखले अर्को रुलिङ गरेका हुन् । राजपाको तर्फबाट चन्दा चौधरीले तराई-मधेश आन्दोलनका क्रममा भएको दमन सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । उनले संविधान संशोधन लगायत आफूहरुसँग भएका सहमति कार्यान्वयनमा सरकार उदाशीन बनेको आरोप लगाए ।
राजपाको माग सम्बन्धमा सभामुख महराले सरकारको ध्यानाकर्षण गराए । ‘यहाँको विषयमा सरकारको पर्याप्त ध्यान गएको ठानेको छु । कारणसहित सरकारले छिट्टै जवाफ दिनेछ भन्ने ठानेको छु । मेरो त ध्यानाकर्षण भएकै छ,’ महराले भने । राजपाले लामो समयदेखि संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ । सरकारका तर्फबाट कानून मन्त्रीले आश्वासन दिएपनि प्रतिवेदन सार्वजनिक भएको छैन ।