श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

115

३० वैशाख,
काठमाडौं । श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् । फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो ।

श्रीलंकाली अधिकारीहरुले फेसबुकबाट घृणा फैलाउने ३८ वर्षीय अब्दुल हमिद महोम्मद हसमरलाई पक्राउ गरिएको छ । उनले अनलाइनमा कमेन्ट गर्दै भनेका थिए-एक दिन तिमिहरु रुनेछौ । मानिसहरुले यसलाई धम्कीको रुपमा लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोमा उत्रिएका थिए । आइतवार अबेर र सोमबार विहानसम्म सरकारले कुरुनेगाला जिल्लाबाट सामाजिक सञ्जालमार्फत घृणा फैलाउने व्यक्तिहरुको समूहलाई नै पक्राउ गरेको छ ।

श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् ।

सरकारले यस्ता हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ । श्रीलंकाको प्रमुख मोबाइल फोन अफरेटर डाइलगले आफूहरुमाथि भाइबर, इमो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युबलगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन आएको जनाएको छ ।