बैशाख २०,
काठमाडौं । कुखुराले अण्डा पारेको भए कुनै समाचार बन्ने कुरा थिएन । तर जब कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ ।
२० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो ढुंगाको नाम चन दन या हो । यसको अर्थ अण्डा पार्ने ढुंगा भन्ने हुन्छ । ढुंगाको रङ कालो रहेको छ । हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको छ ।
यो अण्डा पार्ने ढुंगा चीनमा एउटा रहस्यको रुपमा रहेको छ । स्थानीय मानिसहरु यो अण्डा पार्ने ढुंगालाई खुसीको प्रतिक मान्छन् । यो ढुंगाबाट निस्किएको अण्डा आकारको ढुंगा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन् ।
वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पूरानो हो । पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान मानिन्छ यसलाई । विषम मौसमका कारण चट्टान खुम्चने र फैलिने कारणले चट्टानको आन्तरिक समिकरण तथा तत्वमा परिवर्तन हुँदा चट्टानको बाहिरी भागमा विभिन्न आकृतिका चट्टान निस्किने गरेको हुनसक्ने वैज्ञानिकहरुको मत छ ।
एजेन्सीको सहयोगमा