विदेशी लगानी प्रतिफलको ग्यारेन्टी सरकारले गर्छ: प्रधानमन्त्री ओली

66

बैशाख २०,
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विदेशीहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्दै लगानीको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताएका छन् । शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्रीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । उनले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान पनि गरेका छन् । उनले नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने पनि बताए ।

उनले जनताको सुःखसहितको समृद्धि चाहेको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएकाले त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गरेका छन् । उनले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने पनि स्पष्ट पारेका छन् ।प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिएको पनि स्पष्ट पारेका छन् । निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको पनि उनको भनाई छ ।