चर्चभित्र अन्धाधुन्ध गोली चल्दा छ जनाको मृत्यु

145

वैशाख १७,
बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन् । मोटरसाइकलमा आएका आक्रमणकारीले चर्चभित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए ।

सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै चर्चमा आक्रमण हुनेक्रम बढेको बताए । उनले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवस्था कडा पारिएको पनि जानकारी दिए । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । इन्टरनेसन क्राइसिस ग्रुपले पछिल्ला दिनहरुमा श्रीलंका समेत विश्वका कतिपय मुलुकमा चर्चमाथिका आक्रमण बढेर गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।एएनआई