आईपीएलमा सन्दीप विकेटविहीन बनेको पहिलो खेल

72

वैशाख १६,
काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेका लागि आइतबार बैंग्लोरविरुद्धको खेल सबैभन्दा खराब बन्यो। आइतबारको खेलमा दिल्लीले सन्दीपकासाथै अक्सर पटेल र अमित मिश्रा गरी तीन जना स्पीनरलाई मैदानमा उतारेको थियो । अमितले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए । अक्सरले ४ ओभरमा २६ रन मात्रै दिएर १ विकेट लिँदा सन्दीप ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बने। उनले गतसाल खेलेका तीन र यो सिजनमा यसअघि खेलेका ५ खेल सबैमा विकेट लिएका थिए । आईपीएलका ९ खेल खेल्दा सन्दीप विकेटविहीन बनेको पहिलो खेल बन्यो।

गत सिजन बैंग्लोर विरुद्धकै खेलबाट आईपीएलमा प्रवेश पाएका सन्दीपले तीन खेल खेलेका थिए । यस सिजनमा आइतबार खेल्दा उनले ६ खेल खेल्ने मौका पाएका छन् । अघिल्लो खेलमा पञ्जाबविरुद्ध ३ विकेट लिएर लय समातेका सन्दीप आइतबार बैंग्लोरविरुद्ध टोलीका लागि सबैभन्दा महंगो बलिङ गरी कुनै विकेट लिन सकेनन्।

आईपीएलमा सन्दीपको डेब्यू बैंग्लोरविरुद्धको खेलबाटै भएको थियो । २०१८ मे १२ मा कोट्ला मैदानमा पहिलो पटक बलिङमा उत्रिएका सन्दीपले ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए । बैंग्लोरका ओपनर पार्थिव पटेललाई एलबीडब्लू आउट गरी आईपीएलमा सन्दीपले पहिलो विकेट लिएका थिए । त्यसपछि दोस्रो खेलमा दिल्लीले चेन्नईविरुद्ध खेल्दा सन्दीपले ४ ओभरमा २१ रन दिएर १ विकेट लिए । तेस्रो खेल मुम्मईविरुद्ध खेलेका थिए । यसमा भने सन्दीपले ४ ओभरमा ३६ रन दिई ३ विकेट लिए ।

गत सिजनका ३ खेल खेल्दा सन्दीपको बलिङ इकोनोमी ६.८३ मात्रै थियो । उनी वेस्ट बलिङ इकोनोमीको पाचौं नम्बरमा थिए । यस सिजनमा पनि सन्दीपले ६ खेलमा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका छन् । बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन् । ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ । ८२ जनाको सूचीमा उनी बेस्ट बलिङ इकोनोमीमा ५१औं नम्बरमा छन्। धेरै विकेट लिनेको सूचीमा सन्दीप २८औं नम्बरमा छन् । दिल्लीले अब समूह चरणमा २ खेल खेल्न बाँकी छ ।

मे १ मा चेन्नईविरुद्ध उसकै मैदानमा खेल्दैछ । अर्काे खेल मे ४ मा कोट्ला मैदानमा राजस्थानसँग खेल्नेछ । चेन्नईविरुद्धको खेलमा सन्दीप टोलीमा पर्ने सम्भावना निकै कम छ। स्पीनरमैत्री मानिएको कोट्लामा राजस्थानविरुद्ध भने खेल्ने सम्भावना छ । तीन स्पीनर खेलाएमा सन्दीपले खेल्ने पाउने सम्भावना धेरै देखिन्छ । प्लेअफमा स्थान बनाइसकेको दिल्लीले लिग चरणपछि पनि कम्तिमा १ देखि ३ खेलसम्म खेल्ने सम्भावना रहन्छ। यसमा भने सन्दीप टोलीमा पर्ने नपर्ने अनुमान गर्न कठीन छ ।-Annapurna

67