भूकम्पको चार वर्षमा पनि भएन ३१ शवको सनाखत

71

वैशाख १२,
काठमाडौं । ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे। अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो। भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दा शव पनि थपिँदै गएका थिए। कतिपय शव टुक्रा टुक्रा भएका थिए। ‘शव सुरक्षित राख्न पर्याप्त फ्रिज थिएनन्। बत्ती थिएन। बरफ पनि पाइएन’, उनले भने, ‘त्यस्तो अवस्थामा शव कुहिएर गन्हाउन थाले।’

पहिचान गर्न कठिन भएका शवको सामूहिक दाहसंस्कार गर्न प्रहरीले आग्रह गरे पनि चिकित्सकले मानेनन्। मेडिकल कलेजबाट समेत चिकित्सक आएपछि कसैले पोस्टमार्टम रिपोर्ट तयार गर्न लागे। कसैले एन्टिमोटम डाटा (मृतकको विवरण, लुगाफाटो, गहना, हुलिया) को विवरण संकलन गर्न थाले। कसैले शोकाकुल आफन्तलाई काउन्सलिङ गर्न थाले।

सनाखतमा समस्या

सबै शवमा नम्बर राखियो। तर आफन्तलाई देखाइएन। लुगाफाटो र गहना देखेर चिनेपछि बल्ल शवछेउ लगेर पहिचान गरियो। टुक्रा टुक्रा भएकाको फिंगर प्रिन्ट लिइयो। कतिपयको डीएनए संकलन गरियो। विदेशीको शव पहिचानका लागि दूतावासबाट सहयोग मागियो। डा. श्रेष्ठ भन्छन, ‘दाँतको अवस्था र डीएनए परीक्षणबाट पत्ता लगाएर शव जिम्मा लगाइयो।’
यसरी सनाखत गर्दा पनि ३४ शवको सनाखत हुन सकेन। ती सबैको पोस्टमार्टम गरी सबै विवरण सुरक्षित राखेर शवलाई फरेन्सिक विभाग परिसरमै गाडियो। ‘सनाखत नभएका शव स्टोर गर्न ४/५ फिट मुनि गाडेर राखियो। बाहिरबाट नम्बर राखियो। पछि आफन्त आएपछि ३ शव निकालेर बुझाइयो’, उनले भने।

पोस्टमार्टममा संलग्न डा. रिजेन श्रेष्ठका अनुसार चिकित्सक, प्रहरी र स्वयंसेवीबीच सहकार्य भएकाले शव पहिचानमा सघाउ पुगेको थियो। ‘घाइते भएकाले उपचारमा पहिलो प्राथमिकता पाउनु पर्छ। तर शवको पनि सम्मान गर्दै सनाखत गर्न सफल भइयो’, फरेन्सिक विभागका तत्कालीन प्रमुख श्रेष्ठले भने। शव बेर्न प्लास्टिक र कात्रो अभाव भएपछि पोस्टमार्टममा संलग्न चिकित्सकले नै आर्थिक सहयोग गरेको उनी बताउँछन्।Source: Annapurna