टेलिकमले १० महिनामा देशभर फोरजी सेवा विस्तार गर्ने

140

वैशाख ६,
काठमाडौं । नेपाल टेलिकमले आउँदो १० महिनामा देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि टेन्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिसकेको टेलिकमले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
फोरजी एलटिइ ९लङ टर्म इभोलुसन० सेवा एक वर्षभित्र सञ्चालनमा ल्याउनु कम्पनीका लागि चुनौतीको विषय रहेको सम्मेलनमा प्रवक्ता प्रतिभा वैद्यले बताइन् । उनले कोर नेटवर्कका लागि चिनियाँ कम्पनी जेडटिइ कर्पोरेसनसँग सम्झौता भएको जानकारी पनि दिइन् । फोरजी एलटीई सञ्चालनका लागि दुईवटा नेटवर्क बनाइएको बताइन् । फोरजी एलटीई आयोजनामार्फत मुलुकभर ६५ लाख जनताको पहुँचमा सजिलै पुग्ने टेलिकमले जनाएको छ ।

हाल अधिकतम डाटा स्पिड ३२ एमबीपीएस रहेकोमा टेलिकमले नयाँ परियोजनामार्फत क्षमता विस्तार गरी १३० एमबीपीएसको स्पिड दिन सक्नेछ । फोरजी एलटीई नयाँ सम्झौताअनुसार काठमाडौं, पोखरा, नेपालगन्ज र विराटनगरमा पीरक्षण गर्ने योजना रहेको छ । फोरजी एलटीईको नयाँ आयोजनामा ६० प्रतिशत लागत उपकरणमा रहेको छ भने ४० प्रतिशत लागत उपकरण ढुवानी र जडानमा रहेको छ ।

टेलिकमले इन्टरनेट सेवा एडीएसएल सेवा अब फाइबर टु द होम९एफटीटीएच०मा परिवर्तन गर्न लागेको पनि उनले बताइन् । इन्टरनेटका साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको प्रवक्ता वैद्यले जानकारी दिइन् । हाल देशभर ४० हजार ९६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ र थप नेटवर्क विस्तार कार्य जारी रहेको जनकारी गराइन् ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताए । आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने बताउँदै छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अघि बढेको जानकारी दिए ।

देशभर सातै प्रदेशमा सेवा गत २० माघमा तीनवटा सम्झौता सम्पन्न भएको समेत जानकारी दिइएको छ । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको छ । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात् हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्ने टेलिकमले बताएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म मोबाइल सेवा विस्तार ४ सय वटा थ्रीजी बीटीएसको स्तरोन्नति गरिएको बताएको छ । त्यसैगरी, सो अवधिमा ४०७ वटा बीटीएस थप गरिएको छ । १ करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कम्पनीले जानकारी गराएको छ । सो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ भने प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य टेलिकमले राखेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदनअनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको दाबी गरेको छ । त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणले ११ देखि २५ असोज २०७५ सम्म काठमाडौंमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो पाइएको टेलिकमको भनाइ छ । मध्य पहाडी लोकमार्गअन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउन गत मार्च १२ देखि २२ सम्म प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरका लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर र प्रदेश ३ को ५५५ किलोमिटरका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको जनाएको छ ।-Rajdhani