विदेशबाट फर्किएकाको निःशुल्क सीप परीक्षण

98

वैशाख २
काठमाडौँ -सरकारले भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो । सरकारले गत ०७५ मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए ।

विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ । यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्ड अपेक्षा छ ।

बोर्डले राष्ट्रिय सिप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराएको थियो । चैत २० गते प्रदेश नम्बर १ मा इटहरी, प्रदेश नम्बर २ मा चैत २२ गते महोत्तरीको बर्दिवास, चैत २२ मै प्रदेश नम्बर ३ मा चितवन, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढी र चैत २६ गते भक्तपुरको सानोठिमीमासीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको थियो ।

कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ । यस्तो सीपको प्रमाणपत्र लिएकालाई देशभित्रै आत्मनिर्भर बन्ने गरी स्वरोजगर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो पटक २० वटा विषयमा सीपको परीक्षण गर्ने तयारी छ । स्क्रापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, इलेक्ट्रिसियन, बिल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, रेप्रिmजेनेटर एन्ड एअर कन्डिसन जुनियर मेकानिक्स र आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्ट्रीमा काम गरेकाहरुको सीप परीक्षण हुनेछ ।

यस्तै टेलरिङ, फर्निचर मेकर, असिस्टेन्ट ब्युटिसियन, स्ट्रक्चरल फेब्रिकेटर, सेक्युरिटी गार्ड, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन सीप परीक्षण प्रमाणीरकण गरिनेछ । औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल(१ को कामदार सरह प्रमाणपत्र दिइनेछ ।-अनलाइनखबर