चैत ३०
काठमाडौँ -सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ।वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन्।
सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए।
सगरमाथाको दोस्रो शिविरसम्म हिमनदी, हिमखाल्डा तथा जोखिमपूर्ण ठाउँ प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिन्छ। सगरमाथा आरोहणमा भन्दा आधार शिविरदेखि क्याम्प–१ र क्याम्प–२ पुग्नु जोखिम मानिने आरोही बताउँछन्।
आइसफल डाक्टर आठ जनाको समूहमा खटिएका छन्। आइसफ डाक्टरको समूहले डोरी टाँगिसकेपछि छ जनाले तलमाथि गरेर बाटो मर्मतको काम गर्छन् भने दुईजना दोस्रो शिविरमै बसेर निरीक्षणको काम गर्ने समितिले जनाएको छ।
यो क्रम आरोहण शुरु हुने अवधिसम्म जारी रहन्छ। आइसफल डाक्टरका अनुसार विगतमा भन्दा यस पटक सगरमाथा आरोहणका लागि बाटो राम्रो भएको छ।
अनुकूल मौसमले आरोहण उत्साहजनक हुने अपेक्षा गरिएको एसपिसिसीका अध्यक्ष शेर्पाले उल्लेख गरे। संस्थाका कार्यक्रम अधिकृत कपिन्द्र राईले आइसफल डाक्टरको टोलीले दोस्रो शिविरसम्म सफलतापूर्वक बाटो बनाइसकेको बताए।
समितिले प्रत्येक वर्ष सगरमाथाको क्याप्प–२ सम्म बाटो बनाउने जिम्मा पाएको छ। दोस्रो शिविरदेखि शिखरसम्मको बाटो बनाउने काम एक्सपिडिसन अपरेटर एशोसिएशनले गर्दै आएको छ।
एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पाँचदेखि सात दिनभित्र आइसफल डाक्टर ९आठ जना० को समूह सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्न जाने बताए। अहिले बाटो खुलाउनका लागि आवश्यक औजार, डोरी लगायतका सामग्री हेलिकोप्टरमार्फत दोस्रो शिविर पुर्याइएको छ।
आइसफल डाक्टरको समूह सगरमाथाको आधार शिविरदेखि आरोहण गर्दै माथिसम्म पुग्नुपर्छ।
सगरमाथाको खुम्बु आइसफसम्म अर्थात दोस्रो शिविरसम्म बाटो बनिसकेको छ। अहिले शेर्पा तल माथि गरिरहेका छन् । ८० देखि ९० भारी सामानमाथि चुचुरोसम्म लैजानुपर्ने हुन्छ ।
‘डोरी, स्नोवार, क्याराबिन आइस–क्रु आदि सामान लैजानुपर्छ। आवश्यक जनशक्तिको व्यवस्था गरेर बाटो खुलाउछौँ,’ अध्यक्ष पराजुलीले भने। सामान्यतयः मे महीनाको १२ देखि १८ तारिखसम्म दोस्रो शिविरदेखि चुचुरोमा डोरी टाँगिन्छ। यो कामका लागि करीब रु एक करोड खर्च लाग्ने गर्दछ।
यसको ४० प्रतिशत सामग्री ढुवानीमै खर्च हुन्छ। कीर्तिमानी आरोही फुर्वा तेञ्जिन शेर्पाको अनुभवमा सगरमाथाको बाटो बनाउने काम निकै चुनौतीपूर्ण मानिन्छ। खासगरी दोस्रो शिविरसम्म बाटो धेरै खतरा हुन्छ। उक्त क्षेत्रमा चाँडो चाँडो हिम खाल्डा तथा दरार उत्पन्न हुने भएकाले आरोहण जोखिम हुन्छ।
सगरमाथा आरोहणको समय सामान्यतः ७५ दिनको हुन्छ। त्यससमध्ये ५० दिन हिमाल आरोहणमै बित्छ। समिटका लागि गएका सबै आरोही मे २९ मा आधार शिविर झरिसक्नुपर्ने हुन्छ।
डिमर एक्सपीडिसनका अध्यक्ष समेत रहेका शेर्पाले यो याममा ‘प्रथम चिनियाँ महिला सगरमाथा आरोहण २०१९’ र एक नेपाली गरी दुई आरोही समूह सगरमाथा आरोहणमा पठाएको छ।
पर्यटन विभागका अनुसार वसन्तु ऋतुको यो याममा सगरमाथासहित २० हिमाल आरोहणका लागि हालसम्म ७२ आरोही समूहका ६३६ आरोहीले आरोहण अनुमति पाएका छन्। यीमध्यै सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन्। हिमाल आरोहणबाट बिहीबारसम्म रु ४१ करोड ४७ लाख ६८ हजार १४५ रोयल्टी सङ्कलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ।-रासस