Saturday, September 19, 2026
Home ताजा अपडेट बाजुराका स्थानीय तह कर्मचारीको पर्खाइमा

बाजुराका स्थानीय तह कर्मचारीको पर्खाइमा

140

चैत २६
बाजुरा– चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् । स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा फेरिएका छैनन् । ऐन, कानून निर्माणमा भइरहेको ढिलाइदेखि कर्मचारी अभावको विषय प्रमुख रूपमा उठ्ने गरेको छ । पछिल्लो ऐन, कानून निर्माणको विषय सेलाउन थाले पनि कर्मचारी अभावको विषयले महत्व पाउन थालेको छ ।

कार्यरत कर्मचारीसमेत समायोजनको कागजसहित फिर्ता जान थालेपछि कामकाज ठप्प छ । स्थानीय तह भने कर्मचारीको पर्खाइमा छन् । नौ स्थानीय तहमा कर्मचारी समायोजनको समस्या देखिएको छ । गौमुल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ खनाल रमाना लिएर गएपछि दैनिक कामकाज ठप्प बनेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

सरकारले कर्मचारी समायोजनको व्यवस्था ल्याएसँगै जिल्लाका स्थानीय तह कर्मचारीविहीन बनेका छन् । जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि समायोजनमा आफ्नै गृहजिल्ला गुल्मी सरुवा भएर गएका छन् ।

यस्तै समायोजनपछि कर्मचारीको थप समस्या भएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत डम्मर थापा मात्र कार्यरत रहेका छन् । नायव सुब्बा कम्मानसिंह कुँवर महाकाली नगरपालिका तथा खरीदार सञ्जीव चौधरी बेलौरी नगरपालिका सरुवा भएर जानु भएपछि दैनिक कामकाजमा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत्त डम्मर थापाले बताए ।

दुर्गम जिल्लामा आउन कर्मचारीले मन गरेका छैनन् । समायोजनमा पनि शहर, आफ्नै गाउँ र सुविधायुक्त क्षेत्रलाई कर्मचारीले रोजेकै कारण कर्मचारी अभाव देखिएको जिल्ला समन्वय समितिले जनाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कर्मचारी समायोजनले काम कारवाहीमा समस्या परेको र बजेट कार्यान्वयनमा समेत चुनौती थपिएको बताए । दुर्गमको समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।-रासस