कांग्रेसमा केन्द्रीय विभाग गठनको सहमति जुटाउने प्रयास

64

चैत २५,
काठमाडौँ कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमती जुटाउन सोमबार आफ्नै निवासमा पदाधिकारी बैठक राखेका छन् । पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि हालसम्म केन्द्रीय विभाग गठन हुन सकेको छैन् ।

गत शनिबारका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि स्थगित भएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।

विधानअनुसार विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले बताए। विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न आवश्यक नभएको उल्लेख गर्दै केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा बैठकमा छलफल भएको थियो । काङ्ग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित थिए ।-रासस