अफगानिस्तानमा तालिवानद्वारा आत्मघाती बम विष्फोट

272

चैत २५,एजेन्सी
जलालावाद– अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।

प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो ।

सो घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा ६ जना सर्वसाधारण रहेका र ती सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार शान्तिको दुश्मन तालिवान लडाकू समूहले नै यो कार्य गराएको हो । सन् २००१ मा आफूहरु सत्ताबाट बाहिरिएपछि सशस्त्र आतङ्कमा लागेका तालिबान लडाकू समूहले यो कार्य गराएको प्रहरीले दाबी रहेको छ ।

तालिबान आतङ्ककारी समूहले सोही बेलादेखि सरकारी सुरक्षा अधिकारीहरु र सर्वसाधारणलाई आक्रमण गर्दै आएको छ ।

जलालाबाद शहरमा गत हप्ता मात्र भएको शृङ्खलाबद्ध बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । त्यसमा परी एक २२ वर्षीया महिला र दुई ट्राफिक प्रहरी अधिकारी रहेका थिए ।–सिन्ह्वा