नयाँ पत्रिका
चैत २५, काठमाडौं । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गरेका छन् । संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि डाक्टर आन्दोलनमा छन् । विभेदकारी ढंगले समायोजन गरिएको भन्दै सरकारी चिकित्सक संघ ९गोदान० ले शुक्रबारबाट ओपिडी सेवासहित आपत्कालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् ।
राजधानीका सरकारी अस्पतालमा दैनिक एक सय नौभन्दा बढी अप्रेसन रोकिएको अस्पतालहरूले बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा मेजर र माइनर गरी दैनिक ३५ अप्रेसन हुँदै आएका छन् । वीर अस्पतालमा युरोलोजी, न्युरो, माइनर गरेर ५५ र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सातजनाको पूर्वयोजनाअनुसार अप्रेसन हुँदै आएको छ । आन्दोलनका कारण यी सबै अप्रेसन रोकिएका छन् । कान्ति बाल अस्पतालमा भने शुक्रबार तय गरिएका सबै अप्रेसन भएका छन् । अब गर्ने अप्रेसन सर्न सक्ने निर्देशक डा। गणेश राईले बताए । कान्तिमा दैनिक १२ जनाको सामान्य अप्रेसन हुँदै आएको छ । ‘ती अप्रेसन प्रभावित भए अर्को समय लिन कम्तीमा तीन महिनादेखि एक वर्षसम्म कुर्नुपर्छ,’ निर्देशक राईले भने ।