चैत २०,
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले धावनमार्ग मर्मतको शुभारम्भ गरेका हुन् । गत सोमबार रातिदेखि ‘रनवे रिह्याब‘ स्तरोन्नतिको काम शुरु गरिएको थियो । कार्यक्रममा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारी तथा निर्माणको जिम्मा लिएको चिनियाँ र कोरियन कम्पनीका अधिकारीको उपस्थिति थियो ।
सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक पिच परिवर्तन गर्न लागिएको क्यानले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने छ । स्तरोन्नतिको काम थालिएकाले यही चैत १८ देखि तीन महीनासम्म दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलले जनाएको छ । यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो । मर्मत अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन हुनेछ ।
मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक/पटक उप्किँदा खासगरी वर्षा याममा बढी समस्या उत्पन्न हुने गरेको थियो । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार धावनमार्ग जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त विग्रिएको अवस्थामा छ । भूकम्पपछि धावनमार्गमा बढी समस्या आएको हो । धावनमार्गको कालोपत्र उप्कदा जहाज आकाशमानै ‘होल्ड’ गराएर मर्मत गर्नुपरेको छ । पछिल्लो समय अति विशिष्ठ व्यक्तिसमेत आकाशमा होल्डमा बस्नुपरेको छ ।
धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट शुरु गरिनेछ । हरेक दिन ८० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ ।
धावनमार्ग स्तरोन्नतिका लागि क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु चार अर्ब २७ करोडमा धावनमार्ग परिवर्तनका लागि सम्झौता गरेको छ । उक्त कार्यको प्राविधिक रेखदेखको लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा पाएको छ ।
अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने विमानस्थलको धावनमार्ग मर्मतको काम निकै चुनौतिपूर्ण र कठिनकार्य भएको क्यान अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले बताए । उनले विमानस्थल सञ्चालनको समय आंशिक रुपमा छोट्याएर रातको समयमा काम गर्न लागिएको उल्लेख गरे ।
विमानस्थलका निमित्त महाप्रबन्धक सुरेशमान सिंहले धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती हुने जानकारी दिए । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहजता आउनका साथै विमान होल्ड हुने समस्याको पनि अन्त्य हुने विमानस्थलले जनाएको छ ।
यसअघि पर्यटनराज्यमन्त्री बुढाले विमानस्थल मर्मतपछि हवाई सुरक्षा सुदृढ हुनुका साथै सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्षलाई सफल तुल्याउन पनि उपयोगी बन्ने विश्वास व्यक्त गरे । उनले विमानस्थलको पूर्वाधार विस्तार, सेवा सुदृढिकरण गरी विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्न आवश्यक तयारी गरिएको जानकारी समेत दिए । RSS