चैत् १९,
काठमाडौँ -वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली कामदारले भोग्दै आएका गुनासो र विविध समस्या सुन्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । विदेशमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्या एवं गुनासो सिधै मन्त्रीसमक्ष राख्न सरकारले सोमबारदेखि सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरेको हो ।
यस कल सेन्टरमार्फत वैदेशिक रोजगारीमा रहेका पीडित कामदारले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । कल सेन्टरमा वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका समस्यामा परेका, न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका, स्वास्थ्य समस्याबाट पीडित भएर घर फर्कन चाहने तथा जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानुनी सहायताको आवश्यकता परेमा कामदारले आफ्ना समस्या राख्न पाउनेछन् । कामदारका गुनासोलाई छिटो सम्बोधन गर्न सम्बन्धित विभागीय प्रमुखलाई तुरुन्तै जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ । तत्कालका लागि स्वदेशभित्र निःशुल्क फोन गर्ने व्यवस्था मिलाइएको छ ।
सेवाग्राहीले कल सेन्टरको ११४१, १६६–००१–५००–०५ र ००–९७७–१५९–७००८ नम्बरमा सम्पर्क गरी आफ्ना समस्या राख्न सक्ने मन्त्रालयले जनाएको छ । कल सेन्टरबाट वैदेशिक रोजगारबाहेक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र आन्तरिक श्रम मामिलाका विषयमा समेत सेवा पाउने व्यवस्था मिलाइएको छ । सोमबारदेखि सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न सञ्चालनमा ल्याएको सो ‘कल सेन्टर’को उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन् ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको व्यवस्थापनमा श्रम मन्त्रालयमा सञ्चालनमा ल्याइएको यस कल सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलन र सम्बोधन गरिने बताइएको छ । कल सेन्टर सञ्चालनबाट मन्त्रालय अन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनासमेत तत्काल प्रवाह हुने तथा सेवाग्राहीका समस्याको पनि तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कल सेन्टरमार्फत मन्त्रालयले विशेषगरी मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारवाहीबारे जिज्ञासा राख्ने, सरोकारवालालाई जानकारी दिने र गुनासो सुनुवाइ गरी तत्काल समस्या समाधानको पहल गरिने जानकारी दिए ।Rajdhani national daily












