शेष घले र उनकी श्रीमती अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश

104

चैत १७,
काठमाडौँ -नेपाली मुलका ब्यवसायी शेष घले र उनकी श्रीमती जमुना गुरुङ अष्ट्रेलियाको अर्बपति क्लबमा प्रवेश गरेका छन्। नेपालको अन्नपूर्ण हिमश्रृंखला मुनिको गुरुङ गाउँमा ४० वर्षअघि एक अर्काको जीवनसँग जोडिन पुगेका शेष र जमुनाले अष्ट्रेलिया पुगेर आफ्नो ब्यापार बिस्तार गरे जसले उनीहरुलाई औंलामा गनिने अर्बपतिको सूचीमा पुर्यायो।

सन् १९९० को दशकको सुरुमै अष्ट्रेलिया पुगेका शेष र जमुनाले शिक्षाको क्षेत्रमा मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी तथा बिभिन्न ब्यावसायिक सम्पत्तिहरुबाट उनीहरुले आफ्नो बिजनेस इम्पायर खडा गर्दै गए। त्यसैकारण आज उनीहरु अष्ट्रेलियाका टप १०० धनाढ्य हुन्। उनीहरु दुबैजना आफ्नो ब्यापार तथा सम्पत्तिको स्वामित्व तथा ब्यबस्थापनमा बराबर साझेदारी गर्छन्।

शेषले आफ्नो र श्रीमती जमुनाको कार्यक्षमता र दक्षता एक अर्काकालागि परिपुरक भएको बताएका छन्। जमुनाले ब्यापारमा शिक्षातर्फको ब्यबस्थापन सम्हाल्छिन् भने शेषले प्रोपर्टी बिजनेस हाँकेका छन्। दुबै सफल भएकैले पहिलोपटक उनीहरु संयुक्त रुपमा अर्बपति (जोइन्ट बिलेनियर) बनेका हुन् । उनीहरुको संयुक्त सम्पत्ति १ अर्ब १० करोड अष्ट्रेलियन डलर पुगेको छ।

‘उनको मार्केटिङ र अपरेसन्स राम्रो छ। डिटेलिङमा उनको राम्रो ज्ञान छ।’ आफू बढी क्यालकुलेटिभ भएको भन्दै शेषले जमुनाका बारेमा भने -‘उनी आफ्नो सिक्स्थ सेन्सले चल्छिन्।’

करिब २४ वर्ष अघि अष्ट्रेलियामा ब्यापार थाल्दा आफूहरुले कहिल्यै पनि यो स्केलमा ब्यापार आइपुग्छ भन्ने कल्पना नगरेको उनले बताए। ‘हामी दुबैको ब्यवसायमा फरक फरक भूमिका छ। हामीले कसले के गर्ने र के नगर्ने भन्ने बारेमा मार्ग बनाएका छौं र हामी एक अर्काको लाइनलाई क्रस गर्दैनौं। यसो हुन नसके हामी झैझगडामा तल्लिन हुन सक्छौ जुन हाम्रो नै हितमा हुँदैन।’- दम्पति मिलेर ब्यवसाय संचालन गर्दा अपनाएको मान्यताबारे शेषले प्रष्ट पारे।

उनीहरु मेलबर्न स्थित घरमा सँगै ब्रेकफास्ट गरेर काममा निस्किन्छन्। ६० मिलियन डलर खर्च गरेर सजाइएको अर्गुस बिल्डिङ स्थित उनीहरुको भब्य अफिसमा दुबै आ-आफ्नो काममा दिनभर तल्लिन हुन्छन्। एक अर्कालाई हस्तक्षेप गर्ने उनीहरुको बानी छैन। लञ्च ब्रेकमा भने उनीहरु सँगै हुन्छन्। कर्मचारी ब्यबस्थापनमा आफू बढी नरम र लिबरल भएको तर जमुना भने कडा, कम्प्रमाइज नगर्ने र एकदम स्ट्रेट फरवार्ड नेचरको भएको उनले बताए।

समुद्रीसतहभन्दा ७ हजार फिट माथि शेषको जन्मघर पुग्न पोखराबाट झण्डै डेढ दिन हिँड्नुपर्छ। जमुनाको गाउँ शेषको घरभन्दा पाँच घण्टाको दूरीमा पर्छ।
उनीहरु पारिवारिक सल्लाहपछि मागी विवाह भएको थियो। जमुना १० कक्षा पढ्दै गर्दा र शेष २० वर्षको उमेरमा उनीहरुको बिवाहको कुरा छिनिएको थियो।
‘विहे हुनुअघि म जमुनाको घरमा गएँ। उनीहरुले मलाई मन पराए किनभने म त्यसबेला एकदम मेहनत गरेर पढिरहेक थिएँ र त्यो जमुनाको परिवारले रुचाए।’- काठमाडौंमा बसेर इन्जिनियरिङमा डिप्लोमा गरिरहेको बेला घर जाँदा बिवाहको कुरा छिनिएको उनले सम्झिए।

‘अहिले जमुनालाई निदाउन समस्या पर्छ।’ शेष पुराना दिन सम्झन्छन्। सन् १९७८ मा बिहे लगत्तै उनीहरु गाउँबाट पोखरा पुगे। उनीहरु दिनभर पोखरा घुमे। त्यसबेला जमुनालाई हातले समाएर खोला तार्ने क्रममा मात्र उनीसँग नजिकिएको पललाई उनी ‘रोमान्टिक’ यादका रुपमा सम्झिरहन्छन्। अहिले तिनै पुराना दिनका कथा सुनाउँदा सुनाउँदै जमुना बच्चा जस्तो लुटुक्क निदाउँछिन् रे।

शेषका अनुसार कुनै पनि सम्बन्ध सफल र दीर्घकालीन हुन त्यहाँ सहनशीलता, त्याग र आपसी समझदारी हुनु अत्यावश्यक हुन्छ। जमुना कर्मचारी ब्यबस्थापनमा कडा भएको शेषको भनाई छ। ‘हामीकहाँ केही कर्मचारी सन् १९९६ देखि नै काम गरिरहेका छन्। उनीहरु हामीले ब्यवसाय सुरु गर्दादेखि नै हामीसँग छन्। मलाई कहिलेकाहीँ अचम्म लाग्छ उनीहरु कसरी जमुनालाई झेल्छन् होला? उनी एकदम टफ छिन् र कहिलेकाहीँ स्थितीलाई सहज बनाउन उनलाई मध्यस्तकर्ता समेत चाहिन्छ।’- ब्यवसायलाई ब्यवस्थापन गर्ने क्रममा जमुनाले देखाउने ‘टफ नेचर’बारे बताउँदै गर्दा शेष मज्जाले हाँसे।Bizmandu