एजेन्सी, चैत्र १७,
काठमाडौँ — विवाह गरेको चार महिना नबित्दै प्रियंका चोपडा र निक जोनासको चार महिना नबित्दैचिसो आएको छ । अमेरिकी एक म्यागाजिनले त दुईको सम्बन्ध डिभोर्स नजिक पुगेको दाबी गरेको छ । बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनाससँग गतवर्षको डिसेम्बर पहिलो साता क्रिस्चियन र हिन्दी दुवै धर्मअनुसार विवाह गरेका थिए ।
ओके म्यागाजिनले अप्रिल अंकको आफ्नो कभर स्टोरी बनाउँदै दुई सेलिब्रेटी डिभोर्सको प्रक्रियामा रहेको खुलासा गरेको हो । म्यागाजिनले रिपोर्टमा भनेको छ, ‘उनीहरू हरेक कुरामा पनि झगडा गर्न थालेका छन् । खासगरी काम, पार्टी जाने सवाल र एकसाथ समय बिताउने कुरामा झगडा हुन थालेको छ । उनीहरूको वैवाहिक सम्बन्ध केवल अडिएको मात्रै छ ।’
केही समयको प्रेमपछि विवाह गरेको यो जोडीबीच छोटो समयमै खटपट सुरु भएको हो । ‘जबबाट दुईले एकअर्कालाई नजिकबाट बुझ्न थाले तब खटपट सुरु हुन थाल्यो,’ स्रोतको हवाला दिँदै म्यागाजिनले उल्लेख गरेको छ, ‘जोनासले प्रियंकालाई प्रेमिका हुँदा ठानेको जस्तो शान्त र सहज विवाहपछि नपाएको गुनासो गरेका छन् ।उनले आफूलाई प्रियंकाले नियन्त्रणमा राख्न खोजेको तथा उनी रिसाहा भएकाले सम्बन्ध बिग्रँदै गएको हो । परिवारले पनि जोनासलाई सम्बन्धविच्छेद गर्न सल्लाह दिइरहेका छन् ।’ प्रियंका बाल बच्चा पाउन उमेरले परिपक्व भए पनि २१ वर्षकी युवतीले जस्तो स्वाङ पारिरहेको परिवारको आरोप छ ।
प्रियंका–जोनासको विवाहमा झन्डै २० लाख डलर खर्च भएको थियो । यति बेला डिभोर्सको अवस्थासम्म आउनुमा रकमको कुरा पनि उठेको बताइएको छ । त्यसो त विवाहपछि पनि दुईबीच खासै घनिष्ठता नबढेको शंका नभएको हैन । दुईका सामाजिक सञ्जालमा आउने फरकफरक शैलीका फोटाहरूले शंका गर्नेका लागि बल पुर्याइरहेको थियो । तर गत साता मात्रै सप्ताहन्त मनाउन मियामी पुगेको यो जोडीका प्रेमिल फोटोले इन्टरनेट तताएको थियो ।
प्रियंका स्विमसुटमा हट अवतारमा देखिएकी थिइन् । तैपनि फोटोमा यी दुई एकसाथ भने देखिएका थिएनन् । जोनासले आफ्नो मात्रै फोटो सेयर गरेका थिए भने प्रियंका सेल्फी मुडमा देखिएकी थिइन् । तर प्रियंकाको परिवारले भने उक्त ट्याब्लोइड म्यागाजिनको रिपोर्टलाई हावादारी भनेर टिप्पणी गरिदिएको छ ।












