ट्याक्सी चालकले हर्ट अट्याक भएका यात्रुलाई ट्याक्सीबाट निकालेर बाटोमा छोड्दा यात्रुको मृत्यु

85

चैत १५,
काठमाडौँ -गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल कारञ्जित बुधबार बिहान घरबाट ट्याक्सी चढे। नियमित स्वास्थ्य परीक्षणका लागि उनी चाबहिलस्थित मेडिकेयर अस्पताल हिँडेका थिए। छोरा प्रवीणचाहिँ मोटरसाइकलमा आएका हिँडे। गोपाल मेडिकेयर अस्पतालमा १० बजे आइपुगेका थिए। सवा ११ स्वास्थ्य परीक्षण सकियो र उनी अर्को ट्याक्सीमा चढे। प्रवीण मोटरसाइकलमै घर फर्किए।

ट्याक्सी चढेको केहीबेरमै गोपाल छट्पटाउन थाले। उनी चढेको बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालकले गति शून्य पारे।नजिकै हेल्पिङ ह्याण्ड अस्पताल थियो। त्यहीँछेऊ सडक किनारमा उनले गोपाललाई तानेर ट्याक्सीबाट झारे र ट्याक्सी हुइँक्याए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार गोपाललाई केहीबेरपछि हेल्पिङ ह्याण्ड अस्पताल त लगियो। तर, त्यसबेलासम्म उनको मृत्यु भइसकेको रहेछ। ‘सडकमा मान्छे अलपत्र देखेर प्रहरी र स्थानीयले उद्धार गरी अस्पतालसम्म लगे, तर उनको मृत्यु भइसकेको घोषणा डाक्टरले गरे,’ बोगटीले भने, ‘कम्तीमा अस्पतालसम्म लगिदिएको ज्यान बच्नसक्थ्यो।’

यसरी चालकले अलपत्र छोड्दा गोपालको मृत्यु भएपछि महानगरीय प्रहरी बृत्त गौशालाले सडक किनारमा जोडिएको सिसिटिभी फुटेज हेर्‍यो र त्यसैदिन ती ट्याक्सी चालक कपनबाट बग्गीखाना बोलायो। चालक त्यहीँ पक्राउ परे। बृत्तका अनुसार उनी दोलखा जिल्ला मेलुङ स्थायी घर भएका कपन बस्थे।

‘ट्याक्सीभित्रै ती यात्रु भट्याकभट्याक गर्न थालेपछि मलाई डर लाग्यो अनि उनलाई निकालेर छोडेको हुँ,’ ट्याक्सी चालकलाई उद्धृत गर्दै बोगटीले भने।
५० वर्षीय कमलबहादुर श्रेष्ठलाई प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको छ। ‘अमानवीय कार्य गरेको देखियो, यस्तोमा सार्वजनिक मुद्दा आकर्षित गरेर हिरासतमा राखिएको छ,’ वृत्तका प्रहरी नायब उपरीक्षक सुनील मल्लले भने।-सेतोपाटी