प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को बिहीबारको एसईई परीक्षा रद्ध, चार सदस्यीय छानबिन समिति गठन

148

चैत १४
काठमाडौँ -राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश–२ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्ध गरेको छ । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णु अधिकारीले जानकारी दिए । सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्ध भएको हो ।

प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए। यस क्रममा एसएलपी मावि पत्थरगाढामा परीक्षा दिइरहेका सातजना परीक्षार्थी हुबहु उत्तर भएको चिटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सो विद्यालयमा ज्ञानज्योति सेकेन्डरी इङ्लिस बोर्डिङ्ग अर्नाहा, जनता मावि कुशहा अर्नाहा, जानकी मोडेल मावि कल्याणपुर, जनता मावि ब्रह्मपुर, जनता मावि बेल्ही चपेना र जनता मावि नर्घोका दुई सय ७५ जना परीक्षार्थी सामेल छन्। हुबहु चिटको फ्ल्यापसहित पक्राउ परेका अन्जुकुमारी मण्डल, राधिका चौधरी, शिवेनकुमार पासवान, विवेक तामाङ्ग, चाँदनीकुमारी मण्डल, सन्जनकुमारी साह र शिवकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

अनुगमनमा गएको टोलीले चेकजाँच अगावै चिट, गेसपेपर निकाल्न निर्देशन दिएपछि जम्मा भएको दुई बोरा चिटमा पनि प्रशस्तै मात्रामा प्रश्नपत्रसँग मेल खाएको समूह र नम्बरसहित उल्लेख भएका फ्ल्याप प्रतिलिपी रहेको एसपी राजेन्द्र विष्टले बताए। एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य पनि फेला परेको छ। बुधबार राति नै परीक्षार्थीका अभिभावकको हातहातमा प्रश्नपत्र र उत्तरसहितको फ्ल्याप प्रतिलिपी पुगेको र सामाजिक सञ्जालमार्फत सेयर गरेको पाइएको छ।

चार सदस्यीय छानबिन समिति गठन
राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन्। छानबिन समितिका सदस्य शर्मा शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक हुन् भने मैनाली शिक्षा विज्ञान तथा प्रविध मन्त्रालयका उपसचिव हुन्। राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत अधिकारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। समितलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले जानकारी दिए।-अन्नपूर्ण पोस्ट्