वर्ष २०१८ को ‘निक साइमन्स पुरस्कार’ अनमी धिताललाई

115

चैत १२,
काठमाडौं -स्वास्थ्य संस्थामा सुत्केरी गराउन अतुलनीय योगदान दिँदै समग्र स्वास्थ्य सेवा सुधारमा अग्रणी नेतृत्व प्रदान गरेवापत अनमी मीरा धितालले सन् २०१८ को ‘निक साइमन्स पुरस्कार’ प्राप्त गरेकी छिन्।

रौतहट मोहम्मद स्वास्थ्य चौकीमा कार्यरत उनले छोटो अवधिमा सो स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थासमेत बनाउन भूमिका निर्वाह गरेकी थिइन्। ६ वर्षको अवधिमा उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधार विकासमा समन्वय गरी गर्भवती सेवा र विशेषतः स्वास्थ्य संस्थामा सुत्केरी गराउन जिल्लामा नै उल्लेखनीय योगदान दिएकी थिइन्।

गत वर्षमात्र सो स्वास्थ्य चौकीमा १ हजार २ सयभन्दा बढी महिला सफलरुपमा सुत्केरी भएका थिए। राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन इन्ष्टिच्यूटद्वारा संयुक्त रुपमा सोमबारदेखि काठमाडौंमा सुरु भएको दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अनमी धिताललाई सो सम्मान प्रदान गरेका थिए।‍

तीनदिने सो सम्मेलनमा ५६ जिल्लाका ग्रामीण क्षेत्रमा कार्यरत १ सय २५ स्वास्थ्यकर्मीको सहभागिता रहेको छ। इन्ष्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने स्वास्थ्य सम्मेलनमा एकजना स्वास्थ्यकर्मीलाई सो पुरस्कार प्रदान गर्ने गर्दछ। जीन तथा उनकी पत्नी म्यालिन साइमन्सले आफ्ना छोरा निक साइमन्सको स्मृतिमा सो इन्ष्टिच्यूट स्थापना गरी पुरस्कार प्रदान गर्दै आएका छन्।

सो अवसरमा उपप्रधानमन्त्री यादवले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारका लागि मन्त्रालयले प्राथमिता दिएको बताए। उनले कार्यान्वयनमा आउन लागेको नयाँ स्वास्थ्य नीतिमा सातै प्रदेशमा सरकारी तहबाट मेडिकल कलेज स्थापना हुने जानकारी दिए। सो अवसरमा जीन तथा उनकी पत्नी म्यालिन साइमन्सले नेपालका स्वास्थ्य सुधारका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।-रासस