नेताहरु गाउँ जानुस्, सरकारको प्रचार गर्नुस् : प्रधानमन्त्रीको

78

चैत ११,
काठमाडौँ -प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । ‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस ।

सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस ’ प्रधानमन्त्री ओलीले साँसदहरुसँग भने ‘जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस ।’

नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले साँसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताए । तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘केन्द्रमा एकिकरण भएको महिना दिन भित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकतामका सबै काम टुंगिन्छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिना भित्र नियन्त्रण गरिसक्ने बताएका छन् । ‘वहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समुहका अतिविादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ’ प्रधानमन्त्री ओलीले भने ‘वकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने,मान्छे मार्ने अनि अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने रु यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।’