फागुन २४,
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएका सिके राउतमा असाधारण निर्णय क्षमता भएको भन्दै प्रशंशा गरेका छन्। राष्ट्रिय सभागृहमा जारी राजनीतिक समझदारी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतमा असाधारण क्षमता रहेको बताए। ‘यस्तो असाधारण क्षमता मैले प्रचण्डजीमा मात्रै देखेको छु,’ उनले भने, ‘यस्ता निर्णयहरु सामान्य मुटु र सामान्य हृदय भएको मान्छेले गर्नै सक्दैन।’ साथै प्रधानमन्त्री ओलीले सिके राउतले हालसम्म अंगालेको शान्तिपूर्ण आन्दोलनको प्रशंशा गरे। ‘शान्तिपूर्ण पाटो निकै प्रशंशा योग्य छ,’ उनलेभ भने, ‘पृथकतावादका विषयमा आम रुपमा असहमति हो।’ प्रधानमन्त्री ओलीले आजैदेखि पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा प्रवेश गरेकोमा राउतको प्रशंशा गरे।
सो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड तथा सभामुख कृष्णबहादुर महराको पनि उपस्थिति थियो। सहमतिमा हस्ताक्षरमा गरेपछि राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गरे। जनमत सङ्ग्रह आफ्नो माग भएको एवम् सहमतिअनुसार आफूले त्यसका लागि राजनीतिक स्थान पाएको भन्दै उनले यसबाट सबैको जित भएको बताए। प्रधानमन्त्री ओलीले पहल गरेर आफ्नो अभियानलाई शान्तिपूर्ण रूपमा सुरक्षित अवतरण गराएको भन्दै राउतले उनलाई धन्यवाद दिएका थिए।
राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामा जोड दिँदै उनले भने, “देशको एक इन्च जमिन पनि कसैलाई टुक्र्याउन मिल्दैन।” राउतपछि बोलेका ओलीले नेपालमा भएका विभिन्न आन्दोलनहरू र जनताको अभिमतको चर्चा गर्दै देशका लागि शान्तिपूर्ण एवम् लोकतान्त्रिक विधि महत्त्वपूर्ण रहेको बताए। उनले भने, “सीके राउत देखाएर मधेशमा स्वार्थका रोटी सेक्ने धेरै थिए, अब तिनका रोटी सेलाउनेछन्।” कार्यक्रममा बोल्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टीको नाम उल्लेख नगरीकनै कटाक्ष गरे। नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको दल नेकपालाई ‘लुटेरा’को सङ्ज्ञा दिँदै ओलीले सो दललाई हिंसाको बाटो त्याग्न आग्रह गरे।