फागुन २३
तौलिहवा – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ। प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। यादव चन्द विप्लवका भतिजा हुन्। सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना हुन गएको हो । स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी गरि दुई जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।
प्रहरीले जनाए अनुसार प्रहरीले आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि एकोहोरो ढुङ्गा प्रहार भैरहँदा प्रहरीले निकै संवेदनशीलता अपनाएका कारण ठूलो घटना हुनबाट बचेको छ। घटनास्थलमा विद्यार्थीको बाक्लो उपस्थिति थियो, उनले भने, ‘हामीले प्रतिकार गर्दा विद्यार्थीको मानसिकतामा असर पर्ला भनेर संवेदनशीलता अपनायौं। जसले गर्दा ठूलो दुर्घटना हुन पाएन।’
यस्तै, प्रहरीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा पनि छापा मारेको छ । प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ । उनकाे लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेकाे छ ।
चन्दको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।