फागुन २२
काठमाडौँ -भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ ।
दूतावासका नियोग प्रमुख डा अजयकुमार तथा केन्द्रीय भवन अनुसन्धान संस्था (सिबिआरआई) रोर्की भारतकी समूह अगुवा डा पूर्णिमा परिदाले आज यहाँ आयोजित कार्यक्रममा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
यसैगरी प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० प्रमुख इमनारायण श्रेष्ठ र दूतावासकी पुनःनिर्माण प्रभाग प्रमुख सुचिता किशोरले शैक्षिक संरचना पुनःनिर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार संस्थाले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक गरी सात जिल्लाका ७० उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणमा प्राविधिक सहयोग गर्नेछ ।
यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय पुनःनिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।
संस्थाले सरकारको विपद् उत्थानशील पुनःनिर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुनःनिर्माण एवं प्रवलीकरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) सँग सहकार्य गर्ने जनाइएको छ ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्झौता बमोजिम सात जिल्लाका शैक्षिक संरचना बनाउन स्थानीय सरकारको साथ सहयोग पनि जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निजी आवास पुनःनिर्माणले गति लिएको पनि उहाँले बताउनुभयो । राजदूत सिंहले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई पूर्णता दिन शिक्षा पहिलो आधार भएको बताउनुभयो । भारत सरकारले शैक्षिक संस्थाको पुनःनिर्माण एवं प्राविधिक सहयोग प्रदान गर्न रु पाँच अर्ब सहयोग गर्ने एकाइ प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।-रासस