फागुन २२
धनगढी -कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार मुद्दाको फैसला गर्दै टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई दोषी ठहर गरेको हो।
चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ। उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ। ती मध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ।
सोही घटनामा १२ जनालाई तीन वर्षको कैद सजायँ अदालतले सुनाएको छ। लक्ष्मण थारु सहित ११ जनाले तीन वर्ष कैद भुक्तान गरिसकेकोले आजै रिहा भएका छन्। घटनामा आरोपित तीन जनाले भने सफाइ पाएका छन्। ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । जसमध्ये २७ जना प्रतिवादी पुर्पक्षको सिलसिलामा थुनामा रहेकोमा ३१ जना फरार छन् । फरारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ ।
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा प्रहरीले ५८ जना शंकास्पद रहेको भन्दै कर्तव्य ज्यान, डाका चोरी तथा ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।