Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय थाई एयरलाइन्सले उडान रद्द गरेपछि, थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

थाई एयरलाइन्सले उडान रद्द गरेपछि, थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र

104

फागुन १६
बैंकक– पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामावादले सुरक्षाको कारण देखाउँदै आफ्नो आकाश बन्द गरेको छ ।
एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीन वटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो ।

पछिल्ला दिनमा पाकिस्तानले भारतीय वायुसेनाका दुईवटा सैनिक विमान आफ्नो हवाई क्षेत्रमा खसालेको दाबी गरेको थियो । यता भारतले आफ्नो वायुसेनाले पाकिस्तानको लडाकू विमान खसालेको दाबी गरेको छ । आक्रमण र प्रत्याक्रमणका कारण दुई देशबीच ठूलै युद्ध हुनसक्ने अनुमान गरिएको छ ।

यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई छिमेकीबीच तनाव उत्पन्न भएको छ ।

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

बढ्दो तनाबका बीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले वार्ताबाटै समस्याको समाधान निकाल्न भारतसमक्ष आग्रह गरेका छन् –एएफपी