फागुन १६
काठमाडौं – हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ । नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ । मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ । नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
प्रेस विज्ञप्ति
१६ फागुन, २०७५
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले हिजो फागुन १५ गते ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका– १०, सिस्नेभीरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा निम्नानुसार निर्णय गरेको छ :
१. बैठकले एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य माननीय रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, उहाँहरुको शोकाकुल परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
२. बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
३. बैठकले यही फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको छ ।
आजै ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुुँडिखेलमा पार्थिव शरीर राखिनेछ । हाम्रो पार्टीका सबै कमरेडहरु, विभिन्न राजनीतिक दलका नेता तथा मित्रहरु, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई आजै अपरान्ह ३ः०० बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।
माननीय मन्त्री रविन्द्र अधिकारीको अन्तेष्टी भोली फागुन १७ गते उहाँको गृहनगर पोखरामा गरिनेछ ।
४. बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरुका परिवारलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
विष्णुप्रसाद पौडेल
महासचिव