पर्साको ठोरीमा रहेको आँखा अस्पतालबाट सेवा लिने ९५ प्रतिशत भारतीय

71

फागुन १६,
चितवन -नेपाल नेत्रज्योति सङ्घ चितवनले पर्साको ठोरीमासञ्चालन गरेको आँखा उपचार केन्द्रमा सेवा लिन आउने बिरामी अधिकांश भारतीय नागरिक रहेका छन् । सङ्घले विसं २०७२ देखि आँखा उपचार केन्द्र ठोरीको नाममा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा दैनिक ५० देखि ६० उपचारका लागि आउने र तीमध्ये ९५ प्रतिशत भारतीय नागरिक रहेको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार अस्पतालमा उपचारका लागि भारतका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् ।

अस्पताल रहेको ठाउँबाट भारतीय सीमा तीन किलोमिटर टाढा पर्दछ, जहाँ दैनिक सरदर पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । गौतमनगरमा रहेको विद्यालयको भवन भाडामा लिई सेवा दिँदै आएकामा केही दिनमै अस्पतालको आफ्नै भवनबाट सेवा दिने तयारी गरिएको छ । अस्पतालमा एक नेत्र विशेषज्ञसहित नौ प्राविधिक कर्मचारीले काम गर्दै आएका छन् ।

नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलका अनुसार भारतको बिहारभन्दा सेवा राम्रो र सस्तो भएकाले भारतीय नागरिक उपचारका लागि ठोरी आउने गरेका छन् । यस्तै बाराको सिम्रौनगढमा पनि आँखा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा ३० प्रतिशत भरतीय नागरिक रहेको धरेलले जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालमा उपचार गराउन आउनेमध्ये तीन प्रतिशत विदेशी नागरिक छन् ।

अस्पतालले विभिन्न सेवाकेन्द्रमार्फत वार्षिक एक लाख ५० हजार बढी बिरामीलाई सेवा दिँदै आएको छ । ठोरीमा मात्रै गत वर्ष सात हजारले सेवा लिएका थिए । चालू आर्थिक वर्षमा सङ्ख्या बढ्दो रहेको छ । पुस मसान्तसम्ममा पाँच हजार ६०० ले सेवा लिइसकेका छन् ।

च्याम्पियनसिप ट्रफी क्रिकेट आजदेखि

नारायणगढको क्याम्पाचौरमा आजदेखि १६औँ मेयर्स चितवन च्याम्पियनसिप ट्रफी–२०७५ क्रिकेट प्रतियोगिता हुँदैछ । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा विसं २०५७ देखि निरन्तर गरिँदै आएको प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।

यसअघि सङ्घले मात्रै गर्दै आएको प्रतियोगितामा अहिले भरतपुर महानगरपालिकाको सहकार्य रहेको सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको सबै तयारी पूरा भएको अध्यक्ष प्रधानले बताउनुभयो ।

प्रतियोगितामा कूल छ टिम सहभागी हुँदैछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चितवन क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमी छन् भने समूह ‘बी’ मा भरतपुर क्रिकेट क्लब, वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी र वीरगञ्ज क्रिकेट क्लब रहेको सङ्घका सचिव उमेश पियाले बताउनुभयो ।

समूह चरणमा हरेक टिमले दुई खेल खेल्नेछन् र बढी अङ्क प्राप्त गर्ने दुई टिमले फाइनल खेल्नेछन् । प्रतियोगिता विजेताले नगद रु एक लाखसँगै ट्रफी र मेडल प्राप्त गर्नेछ । दोस्रोले रु ५० हजार ट्रफी र मेडल पाउनेछ । प्रतियोगिता अवधिभर हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कार रु तीन हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यानलाई रु पाँच हजार र ट्रफी, उत्कृष्ट बलरलाई रु पाँच हजार र ट्रफी तथा उत्कृष्ट खेलाडीलाई रु १० हजार र ट्रफी प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामार्फत चितवनका क्रिकेटप्रेमी खेलाडीको मनोबल उच्च राख्न, खेल प्रतिभा साटासाट गर्न, खेलाडी खेलाडीबीच मित्रता भाव प्रगाढ बनाउन सघाउ पुग्ने सङ्घ अध्यक्ष प्रधानले बताउनुभयो ।-रासस