फागुन १५ ,
काठमाडौं-वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौं प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी लाई प्रहरीले पक्राउ गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न र वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मरी पक्राउ परेका हुन् । वाइडबडी खरिदका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले बुधबार संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो । धर्नाबाट प्रहरीले ५ महिलासहित २३ अधिकारकर्मीलाई गिरफ्तार गरेको शान्ति समाजले जनाएको छ । मानवअधिकारकर्मीले ‘ठूला नेता मिलेका साढे ४ अरव निलेका लेखिएको २७५ वटा कागजको प्लेन उडाएका थिए ।
गिरफ्तारीमा पर्नेमा शान्ति समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा। गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, नम्रता खरेल पौडेल, सरस्वती ढकाललगायत अधिकारकर्मी रहेका छन् गिरफ्तारीमा परेकालाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ ।