विप्लवका कार्यकर्ता अत्याधुनिक हतियार एलएमजी र एम-१६ सहित पक्राउ

173

फागुन १५
धरान -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रहरीले धरानको पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका विप्लवका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका(१० का देवकुमार लिम्बू ‘सन्दीप’ लाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो ।

पानमारास्थित सडकमा नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका दुईजनामाथि चेकजाँच गर्ने क्रममा उक्त हतियार बरामद गरेका हुन् । प्रहरीले हतियार बरामद गरेपछि विप्लवकका एकजना कार्यकर्ता भने भाग्न सफल भएका छन् ।

पक्राउ परेका लिम्बू विप्लवको पूर्वी ब्यूरो सदस्य रहेको खुलेको छ। लिम्बुलाई अहिले पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बराम भएका दुवै हतियार माओवादीले द्वन्द्वकालमा नेपाली सेनाबाट लुटेको अनुमान गरिएको छ । आफुले प्रयोग गर्दै आएको हतियार विप्लवका कार्यकर्ताबाट बरामद भएपछि नेपाली सेनाको टोली पनि त्यहाँ पुगेको छ ।

यी दुवै हतियार नेपाली सेनाले प्रयोग गर्दै आइरहेको छ । एलएमजी सशस्त्र प्रहरीसँग केही थान भए पनि एम-१६ भने नेपाली सेनासँग मात्रै रहेको छ । अमेरिकामा निर्मित एम-१६ राइफल नेपाली सेनाले माओवादीसँग युद्धकै क्रममा खरिद गरेको थियो ।

विप्लवका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ गरेपछि अहिले एक नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी केदार रिजाल, स‌ंघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री, सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारी पनि पानबारी पुगिसकेका छन् ।