भक्तपुर एक युवक मृत भेटिए, चार जना पक्राउ

282

फागुन १२,
भक्तपुर । घरबाट गाडी बनाउन निस्केका एक जना युवा भक्तपुरमा मृत भेटिएका छन् ।
शनिबार बिहान ९ बजेघरबाट निस्केका सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलका २६ वर्षीय निकेश भुजु आफ्नो ४ वर्षको छोरा सहित घरबाट गएका थिए । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार निकेश छोरा सहित बा.५ च ६४२१ नम्वरको निलो मारूती गाडी बनाउन भनि गएपछि सम्पर्क विहिन भए ।

घरबाट हिडेका उनीसंग फोन सम्पर्क हुन नसकेपछि उनीकी श्रीमती सृजना भुजुले सोही दिन बेलुकी ६ बजेको समयमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको मौखिक उजुरी दिइन् । उजुरीका आधारमा खोजतलास गर्दै जादाँ भक्तपुर न.पा वडा नं. ८ लिवाली तर्फ भागेको देखिएकाले सो गाडीको पिछा गर्दै जादाँ निकेशका छोरालाई छाडी भागेको र गाडी भित्र हेर्दा निकेश अचेत अवस्थामा भेटिए । तत्काल सोही गाडीमा उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा सम्बन्धित चिकित्सकद्धारा मृत घोषित गरेका महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्दै जादाँ चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने बर्ष २५ को सुमन बाला, दाङ हापुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १९ को भुप बहादुर रोका छन् । त्यसैगरि सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका वडा नं. १ ट्याङथली घर भई हाल भ.पु.जि.चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली बस्ने बर्ष २६ को किरण श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने बर्ष २१ को सुकु भन्ने राज बनमाला रहेका छन् । प्रहरीले उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक शुसिल कुमार पाण्डेले जानकारी दिए ।