Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय भारत : जयपुरस्थित जेलमा पाकिस्तानी कैदीलाई पिटीपिटी हत्या

भारत : जयपुरस्थित जेलमा पाकिस्तानी कैदीलाई पिटीपिटी हत्या

80

बिबिसि,
फागुन ९, काठमाडौँ राजस्थानमा जयपुरको केन्द्रीय जेलका एक पाकिस्तानी बन्दी शकरुल्लाहको अन्य कैदीहरूले पीटीपीटी हत्या गरेका छन्। पाकिस्तानको सियालकोटका बासिन्दा शकरुल्लाह उक्त जेलमा जन्मकैद भोगिरहेका थिए।उनलाई जेलकै अन्य चार बन्दीले ढुङ्गाले हानेर हत्या गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार यो घटना बुधबार दिउसो भएको थियो। जयपुर प्रहरीका वरिष्ठ अधिकृत लक्ष्मण गौडले जेलको बाहिर जम्मा भएका पत्रकारसँग कुराकानी गर्दै यसको पुष्टि गरेका हुन्।

विवादको जड ‘टेलिभिजन’
गौडका अनुसार शुरुमा जेलमा टीभीको आवाज ठूलो-सानो गर्ने विषयमा विवाद भएपछि उनको हत्या हुन गएको थाहा लागेको छ। गौडले ती चार बन्दीहरूको पहिचान भइसकेको बताए। घटनाको जानकारी पाउने बित्तिकै प्रशासनमा खलबल मच्चिएको थियो। जेल महानिर्देशक एनआरके रेड्डी, वरिष्ठ अधिकारीहरू र विधि विज्ञान प्रयोगशालाको टीम तत्काल जेल पुगेको थियो।गौडले अनुसन्धान शुरु गरिएको बताएका छन्।

सुरक्षा व्यवस्था कडा
घटनाको सम्बन्ध भारत प्रशासित पुलवामा काण्डसँग जोडिएको छ कि छैन भन्ने प्रश्नको जवाफमा प्रहरी अधिकारीले भने, “अहिलेसम्म त टीभीको आवाजको मात्र कुरा आएको छ।” शकरुल्ला र अन्य दुई पाकिस्तानी बन्दीहरूमाथि सन् २०१७मा जयपुरको एक अदालतले भारतमा आतङ्क फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो। त्यसबेलादेखि उनी जयपुर जेलमै छन्। उनीमाथि ‘चरमपन्थी सङ्गठन’ लश्कर ए तोएबाका लागि काम गरेको आरोप लगाइएको थियो। प्रहरीले यो मामिलामा आठ जनालाई दोषी ठहर गरेको थियो। त्यसमा पाँच भारतीय थिए र तीन पाकिस्तानी थिए। यो घटनापछि जेलमा सुरक्षा व्यवस्था बढाइएको बताइएको छ। राजस्थानको विभिन्न जेलमा बीस हजार भन्दा बढी बन्दी छन्। तीमध्ये ६२ विदेशी नागरिक छन्। तीमध्ये एक दर्जन भन्दा बढी पाकिस्तानी छन्।