उच्च हिमाली जिल्लामा फेरि हिमपात

41

फागुन ९,
काठमाडौँ -हिमाली जिल्ला हुम्लामा बिहीबार फेरि हिमपात भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन सुरू भएको हुम्लामा पुष महीनाको मध्यदेखि फागुनसम्म निरन्तर हिमपात भइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रीएको एक महीनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाले बताए । त्यस क्षेत्रमा नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग सन्चो बिसन्चो सोध्नलाई समस्या बनाएको छ ।

माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको हो । आज बिहान निरन्तर परेको हिउँले करीब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।