राजस्वका अधिकृतको तीन करोड बराबरको अकुत सम्पत्ति

148

फागुन ६,
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ । विभिन्न कार्यालयहरुमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति कमाएर अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै अख्तियारले रिजालविरुद्ध मुद्दा दायर गरेको हो ।

रिजालविरुद्ध श्रोत नखुलेको सम्पत्ति बिगो दुई करोड ९७ लाख ३८ हजार तीन सय दश रुपैयाँ विगो मागदाबी गरिएको छ । उनकी श्रीमती स्वास्थानी रिजाललाई पनि प्रतिवादी कायम गरिएको छ ।

३५ वर्षको जागिरे जीवनमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफतसमेत गराउन पनि अख्तियारले मागदाबी गरेको छ । उनले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा विक्री, श्रीमती स्वस्थानी रिजालको नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्सको आय, अवकास पश्चात सुविधा प्राप्त आय, कर्जा लगायतबाट एक करोड ९६ लाख ८६ हजार पाँच सय नौ रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

त्यही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल डि बटुवा प्रालि एवम् सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रालिहरुमा लगानी, विभिन्न बैंक तथा वितीय संस्था र कम्पनीमा सेयर लगानी, शैक्षिक खर्च, सुन चाँदी खरिद एवँ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दातसहित चार करोड ९४ लाख २४ हजार आठ सय १९ खर्च तथा लगानी गरेको देखिएको छ।

उनको वैध आय एक करोड ९६ हजारको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएको छ । सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएकोले वैध आयको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० रुपैयाँको स्रोत खुल्न नसकेको हो । उनल सरकारी सेवामा प्रवेश गरेपछि त्यो परिमाणको सम्पत्ती श्रोत खुलाउन नसकेकाले अवैधरुपमा कमाएको देखिएक हो ।

रिजालविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन अनुसार गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफतसमेत गरी पाउन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । श्रीमती स्वस्थानीसमेतको नाममा राखेको देखिन आएको अख्तियारले जनाएको छ।

अख्तियारले श्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न माग गर्दै श्रीमती स्वस्थानी रिजाललाई समेत प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गराएको हो ।