कश्मीर आक्रमणका मुख्य योजनाकारको मृत्यु

67

फागुन ६,
बिबिसि – भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ। एक गैरसैनिकको पनि ज्यान गएको छ। भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ।लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ। सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भयो। बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो। सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो घटनामा संलग्न लडाकु खोज्न एउटा अभियान नै सुरु गरेको छ। सेनातर्फ हताहत भएकामध्ये एक जना मेजर र तीन जना सिपाही रहेको बीबीसी हिन्दीले जनाएको छ। सो क्षेत्रमा गोली हानाहान भएको चर्को सुनिएको छ। सुरक्षाकर्मीहरूले गाउँलेहरूलाई घरभित्रै बस्न आह्वान गरेका छन्।