सरकारको एक वर्ष निराशाजनक भन्दै विवेकशील साझा द्धारा विज्ञप्ति जारी (विज्ञप्ति सहित)

114

फागुन ३,
काठमाडौं विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल निराशाजनक भएको निश्कर्ष निकालेको छ ।

विवेकशील साझाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी एक वर्षको अवधिमा सरकारले बाटो पहिल्याउन नसकेको टिप्पणी गरेको हो । विकास र पूर्वाधार निर्माणमा अलम र चरम नैराश्य भएको साझा विवेकशीलले बताएको

विज्ञप्ति

अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई हार्दिक बधाई दिन चाहन्छ।

बलियो जनमत प्राप्त यो सरकार गठन हुँदा आम सर्वसाधारण र हाम्रो पार्टीले ठूलो अपेक्षा राख्दै शुभकामना दिएको थियो। सरकारले पछि संसदमा दुई-तिहाईको समर्थन समेत प्राप्त गर्यो। तर ऐतिहासिक शक्ति बोकेको सरकार हुँदा हुँदै पनि सरकारको काम-कारवाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा विवेकशील साझा पार्टी अत्यन्तै चिन्तित छ।

भ्रष्टाचार चुलिंदो छ। दण्डहीनताले प्रश्रय पाईरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन्। निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ।

समाजवाद-उन्मुख भनिएको हाम्रो राज्य विपन्न र गरिव जनताको झुपडीमा पुग्ने कुनै संकेत देखिएको छैन। समग्रमा भन्नु पर्दा विकास र संवृद्धिलाई मूल नारा बनाएको सरकारले सो हासिल गर्न लागि रणनैतिक प्रस्थान बिन्दु नै पहिल्याउन सकेको छैन।

लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण हुँदै गरेको देखिंदै छ। वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्याउन आवश्यक कुटनैतिक चातुर्यतामा सरकार पटक-पटक चुकेको छ। हाम्रो मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानप्रति समेत सरकारको असंवेदनशीलता बेलाबखतमा प्रकट हुनु खेदजनक छ।

विगत एक वर्षको गंभिर समीक्षा गरी अगाडिको बाटो तय गर्नका लागि विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ।

यो घडिमा सरकारका कामकारवाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशाेभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनु भन्दा आलोचनालाई सकारात्मकरूपमा ग्रहण गरी आम जनताको मन जित्ने कार्यशैली अपनाउन हामी सरकारलाई सुझाव दिन चाहन्छौं।

सरकारको बाँकी कार्यकालको सफलताकालागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछाैं।

डा. सूर्यराज आचार्य
प्रवक्ता, विवेकशील साझा पार्टी
मिति: ०३ फागुन, २०७५