Wednesday, September 23, 2026
Home समाज सप्तरीमा बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद सजाय

सप्तरीमा बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद सजाय

99

माघ २३,
सप्तरी जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ । जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमती सञ्जुदेवीले श्रीमान् विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका साथ पीडितले विवाह दर्ता, छोराको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कङ्कालिनी भगवती मन्दिरको रसिद पेश गरेकी थिइन् ।

पीडितले नाबालक छोराको हकमा संरक्षक भई आफ्नो हकमा समेत माग गरेको मानाचामल खर्चवापत अभियुक्तबाट मासिक रु तीन हजार भराई पाउने गरी जिल्ला अदालतले फैसला गरेको छ । सामाजिक परम्पराअनुसार सात वर्षअघि विवाह गरेकी सञ्जुदेवीका पाँच र तीन वर्षका दुई छोरा छन् ।-रासस