पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न ज्ञवाली पाकिस्तानमा

84

माघ २२,
काठमाडौँ नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ ।

पाकिस्तानको इस्लामाबाद र लाहोरमा रहनुहुँदा उहाँले त्यहाँका मन्त्रीहरू, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञ लगायतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणमा पाकिस्तानले लिएको नीतिगत, कानूनी र व्यावहारिक पक्ष, त्यसमा आइपरेका चुनौती र समाधानका उपायबारे अध्ययन गर्नुहुनेछ । पुनःनिर्माणबाट प्राप्त अनुभव तथा ज्ञानलाई विपद् व्यवस्थापन न्यूनीकरणमा कसरी प्रयोग गरिएको छ भन्ने बारे पनि उहाँले जानकारी लिनुहुनेछ ।

पाकिस्तानमा सन् २००५ को भूकम्पपछि स्थापना भएको पुनःनिर्माण प्राधिकरणलाई राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । पाकिस्तानले हाल राष्ट्रिय विपद् व्यवस्थापन कोषको स्थापनासहित विपद् व्यवस्थापनको दीर्घकालीन वित्तीय व्यवस्थापनलाई अघि बढाएको छ ।
ज्ञवालीले पुनःनिर्माणका क्रममा प्राप्त भएका अनुभव र ज्ञानलाई नेपालमा स्थापना गरिने भूकम्प सङ्ग्रहालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गर्नु हुनेछ ।

तीन वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा अवलम्बन गरिएको अवधारणा, हासिल गरेका उपलब्धि र त्यसमा देखा परेका चुनौतीका बारेमा पनि उहाँले छलफल गर्नु हुनेछ । प्राधिकरण स्थापना भएको तीन वर्षमा नेपालमा निजी आवासमा पुनःनिर्माण सम्पन्न र निर्माणाधीन गरी ७८ प्रतिशत, विद्यालय शिक्षातर्फ ८० प्रतिशत, स्वास्थ्य संस्था ६६ प्रतिशत, सरकारी भवन ९५ प्रतिशत, सुरक्षा निकायको भवन ५६ प्रतिशत र सम्पदा पुनःनिर्माणमा ५८ प्रतिशत प्रगति हासिल भएको प्राधिकरणले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भ्रमण समूहमा प्राधिकरणका सहसचिव प्रकाश थापा, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल लगायत हुनुहुन्छ । उहाँ आगामी शनिबार स्वदेश फर्कनु हुनेछ ।-रासस