कांग्रेशलाई राष्ट्रिय महत्वका मुद्दाहरुमा साझा सहमति कायम गरेर अगाडि बढ्न नेकपाको अपिल

131

२१ माघ,
काठमाडौँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सरकारविरुद्ध सडक प्रदर्शन नगर्न आग्रह गरेको छ । नेकपाले राष्ट्रिय मुद्दामा साझा सहमति गरेर जान सकिने भन्दै आन्दोलन गर्न आवश्यक नभएको बताएको हो ।

सोमबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘अहिले आन्दोलन गर्ने वा नगर्ने हरेक पार्टीको अधिकारको कुरा हो । त्यसलाई हामी सम्मान गर्छौं, तर साझा सहमतिको कुराहरुलाई मिलेर अगाडि बढाएर समृद्धिको कार्यभार पूरा गर्ने दिशामा जानु आवश्यक छ ।’

कांग्रेसले महंगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोध भन्दै सोमबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । तर, त्यो आवश्यक नरहेको भन्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय महत्वका मुद्दाहरुमा साझा सहमति कायम गरेर अगाडि बढ्न कांग्रेसलाई अपिल गरे ।

‘राष्ट्रिय महत्वका मुद्दाहरुमा साझा सहमति कायम गरेर अगाडि बढ्न अपिल गर्दछ’, बैठकपछि श्रेष्ठले भने ‘हाम्रो पार्टी अहिलेको राष्ट्रको मुख्य कार्यभार सामाजिक न्यायसहितको समृद्धिको कार्यभार पुरा गर्न प्रतिपक्षलाई पनि साथ लिएर अगाडि बढ्न प्रतिवद्ध रहेको छ ।’

नेकपाले कुनै असमझदारी भए छलफल गरेर जान सकिने पनि बताएको छ ‘कुनै त्यस्ता विषयहरु भए छलफल गरेर सहमति कायम गर्दै अगाडि सकिन्छ । भन्ने कुरामा पनि हामी विशेष अनुरोध गर्न चाहन्छौं ।’ -अनलाईनखबर