माघ २१
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किनेको औषधि नै गुणस्तरहीन पाइएको छ। मन्त्रालयको स्वास्थ्य व्यवस्थापन महाशाखाले खरिद गरेको औषधिको गुणस्तर जाँच नगरी आपूर्तिका लागि अनुमति दिँदा गुणस्तरहीन औषधि जनताले उपभोग गर्नु परिररहेको खुलेको हो।
मन्त्रालयले किनेको पारासिटामोल र घाउ सफा गर्ने औषधि नै गुणस्तरहीन भेटिएको हो।
औषधि व्यवस्था विभागले नियमित चेकजाँच गर्ने क्रममा केही औषधि गुणस्तरहीन रहेको भेटिएको हो। उक्त औषधि उपभोग र बिक्रीवितरण नगर्न विभागले सूचना जारी गरेपछि व्यवस्थापन महाशाखाका कर्मचारी झस्किएका छन्। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले खरिद गरेको औषधि आपूर्ति विभिन्न प्रदेशमा भएको छ।
उक्त औषधि बिक्रीवितरण तथा प्रयोग रोक्न महाशाखाले पत्राचार गरेको पाइएको छ। धनकुटा, धनुषा, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र दिपायलका प्रदेश स्वास्थ्य निर्देशनालयलाई ती औषधीहरुको बिक्रीवितरण तथा प्रयोगमा तत्काल रोक लगाउन सूचना जारी गरिएको छ। आपूर्ति गरिएका विभिन्न ब्याचका पोभिनु नामक घाउ सफा गर्ने औषधि र लोटेम्प नामक बच्चालाई खुवाइने पारासिटामोलका विभिन्न ब्याचका औषधिको गुणस्तर कमजोर रहेकाले औषाधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको सूचना केही दिनअघि जारी गरेको थियो।
तीमध्ये सबैभन्दा धेरै क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ नामको घाउ सफा गर्ने औषधि छ। यो औषधिका ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छन्। यसैगरी सरकारले नै किनेको ओम फर्मास्युटिकल्स, नेपालको ‘लोटेम्प’ नामक औषधिका तीन ब्याच न्युन गुणस्तरको पाइएको हो।
यसबाहेक लेबन ल्याब्रोटोरिज प्रालि, इन्डियाको ‘जाइलो–पी’, केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोला’ र सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’ न्यून गुणस्तरका भेटिएका हुन्। विभागले यी औषधि प्रयोग र बिक्रीवितरण नगर्न भनेको छ। यसैगरी आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’लाई बजारबाट फिर्ता लिन भनिएको छ।

-स्वास्थ्य खबरपत्रिका