माघ २०,
दाङ — संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउनु गलत भएको बताएका छन् । रिपोर्टस् क्लब दाङले आइतबार बिहान तुलसीपुरको टरिगाउँ विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रक्रिया पुर्याएर पारित भएको विधेयकको विरुद्ध आन्दोलन गर्नु अर्थहीन हुने बताए ।
पर्याप्त छलफल भएको विधेयकबारे संसदमा असहमति जनाउनु जायज भए पनि सदन अवरुद्ध गर्नु र सडकमा आन्दोलन गर्नु उचित नहुने उनले बताए। ‘चिकित्सा शिक्षा विधेयक प्रतिपक्षीको आन्दोलनको विषय होइन। एउटा प्रक्रियामा गइसकेको कुरालाई अनावश्यक उचाल्न खोज्नु ठिक होइन,’ उनले भने, ‘राजनीति गर्नका लागि मात्रै आन्दोलन गर्नु ठिक हुँदैन। विधेयक पारित भैसकेपछि अब यसको काम नै सकियो। अब के का लागि आन्दोलनरु’
सभामुख महराले कर्मचारीकै कारण दाङको एकमात्र टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो बनाउन ढिलाई भएको बताए। ‘अस्थायी ईन्धन डिपो ल्याउने विषयमा आयल निगमसँग सल्लाह गरी मन्त्री र सचिवले तोक लगाइसक्नुभएको थियो,’ महाराले भने, ‘तर कर्मचारीले त्यो फाइल गायब बनाएपछि ढिलाइ भएको छ।’
उनले दाङमा अस्थायी इन्धन डिपो ल्याउन पुनस् प्रक्रिया सुरु भइसकेको जानकारी दिए। उनले विमानस्थलमा टर्मिनल भवन निर्माणको पक्रिया पनि अघि बढिसकेको जानकारी दिए।-कान्तिपुर