माघ २०,
काठमाडौं-प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद्मा अवरोध नगर्ने भएको छ। डा. केसीको अनशन अन्त्य भएको र काँग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई सङ्घीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले काँग्रेसले संसद् बैठकमा अवरोध नगर्ने भएको हो। डा. गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै काँग्रेसले यसअघि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो। संसद्मा आफूहरूले दिएको दबाबकै कारण तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले सङ्घीय सरकार मातहत ल्याएको काँग्रेसका सांसद बद्री पाण्डेले बताए। त्यसैले आइतबार बोलाइएको सङ्घीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक अवरोध नगरिने उनले जानकारी दिए। संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजेपछि बस्ने गरी बोलाइएको छ।