सयौं गाई मृत फेला

68

माघ १४,
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १५० मात्र छन् ।”

नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको छैन । नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदिएको अर्का हेरालु भोजबहादुर चौधरीले बताउनुभयो । आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो । रासस