Sunday, September 20, 2026
Home समाचार सूर्यविनायक नगरपालिकाको नगरसभापछिको ६ महिनाको अवधीमा यस्तो छ प्रगति विवरण

सूर्यविनायक नगरपालिकाको नगरसभापछिको ६ महिनाको अवधीमा यस्तो छ प्रगति विवरण

145

माघ ५,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा पूंजीगत तर्फ करिव ५० प्रतिशत भन्दा वढी भौतिक प्रगति हासिल गरेको छ । नगरपालिकामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख बासुदेव थापाले तेस्रो नगर सभाबाट चालू आर्थिक वर्षका लागि कुल रु.७६ करोड ४५ लाख २७ हजार बजेट अनुमान पेश गरिएकोमा हाल सम्म पूँजीगत तर्फ रु. ३ करोड ९१ लाख ६८ हजार खर्च भएको बताए ।

उनले पूर्वाधार विकासका अधिकांश आयोजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा रहेकाले पूंजीगत तर्फ करिव ५० प्रतिशत भन्दा वढी भौतिक प्रगति हासिल भई सकेको समेत जानकारी दिएका छन् । यसैगरी नगरपालिकाले चालू तर्फ रु.१२ करोड २ लाख ८६ हजार खर्च भएको र जुन कुल चालू बजेटको ३० प्रतिशत हुन आउने नगरप्रमुख थापाको भनाई रहेको छ ।

यो आर्थिक वर्षमा आन्तरिक राजस्व तर्फ रु.१२ करोड १० लाख अनुमान गरिएकोमा तोकिएको लक्ष्यको ५५ प्रतिशत भन्दा वढी असुली भई सकेकाले आर्थिक वर्षको अन्त्यसम्मा लक्ष नजिक पुगिने अनुमान रहेको थापाले बताए । भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा जम्मा लाभग्राही संख्या ७४ सय १६ मध्ये अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका छ हजार चार सय ४७ लाभग्राही रहेकोमा दोस्रो किस्ता लिने लाभग्राही २५ सय ११ जना, तेस्रो किस्ता लिने लाभग्राही २३ सय ४ जना रहेका नगरपालिकाले जानकारी दिएको छ ।