Monday, September 28, 2026
Home राजनीति प्रधानमन्त्रीसँग प्रश्नोत्तर नभए संसद चल्न नदिने कांग्रेस

प्रधानमन्त्रीसँग प्रश्नोत्तर नभए संसद चल्न नदिने कांग्रेस

215

काठमाडौं, पुस २२ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको बताएको छ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबारे प्रश्नोत्तर गर्न माग गर्दा सभामुख महराले समय नदिएको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको वेल घेराउ र नाराबाजीपछि बैठक स्थगित भएको छ।

बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई वक्तव्य पढ्न दिने तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्ने सभामुखको शैली हुकुमी भएको बताए।

‘सरकारलाई आफ्नो कुरा राख्न दिने तर प्रतिपक्षीलाई प्रश्न गर्न दिन्न भन्ने सभामुख, सभामुख कि पार्टी सदस्यरु,’ थापाले भने, ‘सभामुखका अनुसार संसदको नियमावलीको व्याख्या गर्ने हो भने त उहाँको अनुमतिबिना भित्र बस्न पनि पाइन्न।’

उनले प्रधानमन्त्रीले प्रश्न सामना गर्नु थिएन भने सिंहदरबारबाट मन्तव्य दिएको भए भइहाल्थ्यो किन सदन प्रयोग गरियोरुभन्ने प्रश्न गरे।

‘सरकारले तथ्य तोडमोड गरेर प्रस्तुत गरेको छ। प्रश्न राख्न खोज्दा सभामुखले ढाकछोप गर्न खोज्नुभयो,’ थापाले भने, ‘ प्रश्न सोध्ने पूर्वसहमति थियो, हामीले पाँच जनाको नाम दिएका थियौं। तर पछि सभामुखले सत्तापक्षसँग मिलेमतो गर्नुभयो। हुकुमी शैलीमा संसद चलाउन खोज्नुभयो।’

थापाले प्रधानमन्त्री ओलीप्रति पनि व्यंग गरे।

‘राष्ट्रनिर्माणमा प्रतिपक्षीलाई मिलौं भन्ने प्रधानमन्त्रीले तर संसदमा प्रश्न सोध्छु भन्दा त्यसको जवाफ दिन पनि नहुने, प्रश्नको सामना गर्न नसक्नेरु’ थापाले भने,‘प्रधानमन्त्रीको सम्बोधनमा पहिला ताली बज्थ्यो त्यो ध्वनि सुनेर डर लागेको थियो। तर अहिले केही चुटकिलामा केही सांसदले मात्र ताली ठोके आधाले मन नलागीनलागी ताली बजाए।’

थापाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएन भने संसद चल्न नदिने बताए। स्थगित संसद बैठक सुचारू गर्नेबारे छलफल चलिरहेको छ। -सेतोपाटी