काठमाडौं, पुस १२ तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट सुरेश आले मगर पनि बेपत्ता भएको थाहा भएको छ। जीतपुर, सिमरा उपमहानगरपालिकाको १२ नम्बर वडामा पर्ने गदहर्वा गाउँका हस्तबहादुर आले मगरले बमजनको आश्रममा गएका आफ्ना छोरा तीन वर्षदेखि बेपत्ता भएको बताए। तीन वर्ष भयो, छोरा सम्पर्कमा आउँदैन। घर पनि आउँदैन, हस्तबहादुरले भने, आफन्तले किन खोजेनौ भन्छन्। बमजनका मान्छेले फर्किन्छ भन्छन्। हामी कहाँ गएर खोज्ने’
हस्तबहादुरका अनुसार बमजनको आश्रममा बस्दै आएका उनका एक्ला छोरा सुरेश २०७२ सालको भुइँचालोपछि घर आएका थिए। अब घरै बस्ने भनेर आएका सुरेशलाई बमजनकै आश्रममा काम गर्ने जशबहादुर वाइवाले आश्रम फर्कन सम्झाइबुझाइ गरे।जशबहादुरले यहाँ आएर यताउता गरेर काम छैन, आश्रममै बस्नुपर्छ भन्दै सम्झायो, हस्तबहादुरले छोरा गएको दिन सम्झिँदै भने, जशबहादुरले आफ्नै बाइकमा बसाएर लग्यो। जाने बेला मैले छोरालाई हजार रूपैयाँ दिएँ। आमाले ४ सय रूपैँया दिई। ऊ गयो।त्यसरी गएका छोराले फेरि कहिल्यै सम्पर्क नगरेपछि आफूहरू आत्तिएको हस्तबहादुरले बताए।
एक वर्षअघि नजिकैको पिलुवा गाउँमा पर्ने जशबहादुरको घर पुगेर सोधखोज गरे। जशबहादुरले उनका छोरा थाइल्यान्डमा भएको बताइदिए । तिम्रो छोरा थाइल्यान्डमा छ, आउँछ। मैले फेसबुकमा देखेको छुु भने। त्यहाँभन्दा बढी उनले केही भनेनन् हस्तबहादुरले सुनाए। आले परिवारले भने आफ्ना छोरालाई फेसबुकमा कहिल्यै भेटेन। कतै छोरा देखिइहाल्छ कि भनेर फेसबुक हेर्छौं, कतै देखिन्न् उनले भने। आफ्ना छोरीज्वाइँ र नातिनातिना आउँदा उनीहरूले फेसबुकमा सुरेशलाई खोजिदिन्छन्। तर छोरा त फेसबुकमा कतै छैन,’ हस्तबहादुरले भने परिवारको कसैले पनि कहिल्यै फेसबुकमा देख्यौं भन्दैन।
‘ऊ (जशबहादुर) काठमाडौंतिर हुन्छ रे। यता भेटिन्न। उसको नम्बर पनि कसैले दिन्न। काठमाडौं गएरै भेट्नू भन्छन्। हामीले कहाँ खोज्नु हस्तबहादुरले भने।
पिलुवा घर भएका जशबहादुर वाइवाको बमजनसँग लामो सम्बन्ध छ। बमजन हलखोरिया जंगलमै हुँदा उनीहरूको सम्पर्क भएको हो। उनले बमजनको संरक्षण गर्ने समितिमै बसेर काम गरे।जशबहादुर त्योबेला पर्यटन व्यवसायीको रूपमा चिनिन्थे। सेताहलखोरिया आश्रम बसेर निस्केका एक चेलाका अनुसार बमजनलाई मोबाइल दिने, सिम किन्दिने, बाहिरको सूचना दिने काम जशबहादुरले नै गर्थे।त्यतिबेला बमजनका दाहिने हात नै थिए, ती चेलाले भने, अहिले पनि उनी बोधी श्रवण धर्म संघमा सक्रिय नै छन्।हस्तबहादुरका छोरा सुरेश भने बमजनको आश्रममा आकर्षित हुनुअघि गाउँकै बोर्डिङ स्कुलमा पढाउँथे। उनी बिस्तारै बमजनको तपस्या हेर्न जान थाले। पछि उतै बसे।
हामी हलखोरिया जंगलमा रहेको बमजनको आश्रम पुग्दा सुरेशले उतै बस्ने निधो गरिसकेछ,’ बाबु हस्तबहादुरले भने। उतै बस्ने भइसकेका सुरेश परिवारका सदस्यसँगै एकरातका लागि घर आए। फेरि आश्रम फर्किए। बमजनकै आश्रममा बस्छु भन्यो। न जा भनेको पनि मानेन। तर आउने जाने गरिरहन्थ्यो। हामीलाई ठीकै लागेको थियो,’ हस्तबहादुरले भने।
हस्तबहादुरका अनुसार आश्रम बसेपछि सुरेशले माछा मासु खान छोडे। उनी आश्रमकै भए। बरू उल्टै बेलाबेला आमाबुबालाई पनि घरमा दुःख नगर्नू, आश्रमै जाऊँ भन्न् थाले। एकपटक त उनले आमालाई आश्रम घुमाउन पनि लगे। त्यतिबेला सिन्धुपाल्चोक र सिन्धुलीका आश्रम देखाए। लुम्बिनीमा भएको पूजामा पनि सहभागी गराए।सुरेश कम्तीमा वर्षको एकपटक घर आउँथे। घरमा गाह्रोसारो पर्दा आउँथे। आफ्ना भान्जाहरूको ब्रतवन्धमा पनि आएका थिए।‘पहिले पहिले आश्रम जाँदा हामीलाई फोन गरिरहन्थ्यो। साथीहरूलाई पनि फोन गर्थ्यो,’ छोरा नभेटेकोमा दुखी हुँदै हस्तबहादुरले भने, ‘अहिले त यतिका वर्ष भयो, फोन खबर केही गरेको छैन। कहाँ छ, कसो छ, पत्तो नै छैन।- सेतोपाटी