विधान विवादले काँग्रेस बैठक अनिश्चित पौडेलले अघि सारे नयाँ प्रस्ताव।

99

काठमाडौं– संघीय संरचना अनुसारको विधान कार्यान्वयनमा ल्याउन काँग्रेसलाई सकस परेको छ । पार्टीको विधान मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामा सहमति जुट्न नसकेपछि विधानबारे छलफल र अनुमोदन गर्न बोलाइएको महासमिति बैठक नै अनिश्चित बनेको छ । विधान अनुमोदनका लागि काँग्रेसले मंसिर २९ गतेदेखि पुस ३ गतेसम्मका लागि काठमाडौंमा महासमिति बैठक बोलाएको थियो । तर, महासमिति सुरु भएको ६ दिन बित्न लाग्दा पनि महासमितिमा पेश गर्नेविधानमा केन्द्रीय समितिमै सहमति नजुट्दा महासमिति सदस्यहरुले छलफल नै गर्न पाएका छैनन् ।काठमाडौंको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमिति बैठक निर्धारित समयमा नसकिएपछि आजदेखि स्थान परिवर्तन गर्दै पार्टी कार्यालय सानेपामा सारिएको छ । विधानमा शीर्ष नेताले एक किसिमको सहमति गर्ने तर, केन्द्रीय समितिले त्यसमा विमति जनाउने दोहोरी चलेपछि महासमितिमा विधान पेश गर्न नसकिएको नेताहरुले बताएका छन् ।
खासगरी काँग्रेसमा केन्द्रीय पदाधिकारी कति राख्ने, उनीहरुको चयन प्रक्रिया के हुने भन्नेमा विवाद भएपछि काँग्रेसलाई संघीय संरचना अनुरुपको विधान अनुमोदन गर्न सकस भएको हो । शीर्ष नेताहरुले आफूअनुकुल विधान बनाउन खोज्दा समस्या भएको धेरै काँग्रेस नेता र अगुवा कार्यकर्ताहरुको भनाई छ ।
‘शीर्ष नेताअनुकुल विधान ल्याउन लागेकाले समस्या भएको हो । काँग्रेसका समग्र नेता कार्यकर्ता भन्दा पनि केही नेताअनुकुल विधान बनाउने काम भएको पाइयो । जसमा संविधानको भावना र मर्मलाई ख्याल गरेको पाइएन’, काँग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले भने, ‘संघीयताको मर्मअनुसार विधानलाई समावेशी समानुपातिक नबनाएसम्म त्यो विधान स्वीकार्य हुदैन ।’काँग्रेसका शीर्ष नेताबीच मंगलबार राति सभापति १, उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना तथा कोषाध्यक्ष १ जना गरी ८ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो । कोषाध्यक्षबाहेक अरु सबै निर्वाचित हुनेगरी शीर्ष नेताहरुबीच भएको यो सहमति बुधबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले अस्वीकार गरेका थिए ।

विधान छाप्न सात घण्टा
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार बस्ने केन्द्रीय समिति बैठकले विधान मस्यौदा पारित गर्ने बताए । उनले सहमतिमै विधान महासमितिमा लगिने भन्दै त्यसका लागि केन्द्रीय समिति बैठक बस्न लागेको जानकारी दिए । ‘केन्द्रीय समितिले ओके भनेपछि विधान छाप्न पठाइन्छ । विधान छाप्ने प्रेस तयारी अवस्थामा राखिएको छ’ प्रवक्ता शर्माले रातोपाटीलाई बताए ।उनका अनुसार विधान छाप्न कम्तिमा सात घण्टा लाग्नेछ । विधान छापिएलगत्तै महासमिति सदस्यलाई विधान वितरण गर्ने तयारी गरेको प्रवक्ता शर्माले बताए ।

शीघ्र महाधिवेशनको माग
विधानमा सहमति जुटाउन महाभारत भैरहेका बेला काँग्रेसका १२ जना युवा केन्द्रीय सदस्यहरुले तत्काल १४ औं महाधिवेशनको माग गरेका छन् । यसअघि पनि महाधिवेशन बैठक माग गर्दै आएका ती नेताहरुले जारी महासमिति बैठक सकिएलगत्तै महाधिवेशन बोलाउन माग गरेका हुन् ।
चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन,बद्री पाण्डे, जीवन परियार, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादवले शीघ्र महाधिवेसनको माग गरेका हुन् । उनीहरुले काँग्रेसको नेतृत्व युवाहरुको काँधमा गएमात्र समयअनुकुल पार्टी बन्न सक्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।यसअघि केन्द्रीय समिति र जिल्ला सभापतिको भेलामा समेत यही मागसहित आफ्नो प्रस्ताव पेश गरेका उनीहरुले नयाँ कभर र केन्द्रीय सदस्यहरु थप्दै ८८ पृष्ठ लामो प्रस्ताव महासमिति सदस्यहरुलाई वितरण गरेका हुन् ।

रामचन्द्रको प्रस्ताव फागुनमा महाधिवेशन
युवा नेताहरु मात्रै होइन, काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि २०७६ फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।पौडेलले सभापति शेरबहादुर देउवालाई महाधिवेशनको कार्यतालिका नै बनाएर पेश गरेका हुन् । पौडेलले कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवादमा कुन सही र उत्तम हो भन्ने विषयमा जताजतै बहस चलाउन आवश्यक भएको पनि बताएका छन् ।‘नेपाली काँग्रेस यतिखेर इतिहासकै कठिन मोडमा छ । सँगसँगै आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रबिन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको ऊर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावी मार्ग तय गर्न अब ढिला गर्नुहुँदैन’ पौडेलले देउवालाई बुझाएको प्रस्तावमा भनेका छन् ।त्यस्तै पौडेलले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र जनताका आधारभूत सरोकार र दैनिकीमाथि मडारिएका सबैखाले चुनौति र अतिवादको सामना गर्न, संविधानको इमान्दार कार्यान्वयन र सबै जाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताको आर्थिक–सामाजिक समृिद्ध सुनिश्चित गर्न सशक्त र जनमुखी काँग्रेसको पुनरोदय जरुरी भएको बताएका छन् । उनले महासमितिको वैठक पश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाव दिँदै यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानु पर्नेमापनि जोड दिएका छन् । -रातोपाटी