एकताको प्रतीक राजसंस्था राख्न राप्रपाका नेताहरु सहमत

65

कार्तिक १८,
काठमाडौं । प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् । एक नेताले भने, ‘तीनै पार्टी एकता गरेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बनाउनेमा दुई मत छैन र एकताको प्रतीकका रूपमा संवैधानिक राजतन्त्र राख्नेबारेमा पनि मतभिन्नता छैन । अबको हाम्रो एकता नेकपाको मोडलमा नै हुन्छ । त्यसका लागि केही समय भने लाग्न सक्छ ।’ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो ।
यी तीन पार्टी एकीकरण भएको एक वर्ष दिन नबित्दै गत निर्वाचनका बेला फुटेर तीन टुक्रा भएका थिए । पछिल्लो समय थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकताका लागि वार्ता समिति गठन गरे पनि राप्रपाले केन्द्रीय कार्यसमिति भङ्ग गरेसँगै राप्रपाको वार्ता समिति पनि भङ्ग भएको थियो । उता प्रजातान्त्रिकतर्फको वार्ता समिति पनि निष्क्रिय जस्तै भएको थियो ।