प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

86

कार्तिक १३,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान त्यहाँ पुग्नुभएको थियो । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा डा अरुण सायमीले भन्नुभयो, “प्रधानमन्त्री ओलीले बिहानी खाजा खानुभयो, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ । छातीमा सङ्क्रमण देखिएका कारण उपचारका लागि प्रधानमन्त्री ओली सो सेण्टरमा सोमबार भर्ना हुनुभएको हो । RSS